ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो

काठमाडौं । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित निकालेको हो

। प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ । त्यस्तै, प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो बन्न सफल भएको छ । २ र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ ।

मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि भारतीय राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा फाइबरका डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा केरुङ नाका हुँदै पोखरा ल्याइएको थियो ।

चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सवमा यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो । ‘डान्बु जी’ भनेर पनि चिनिने ड्रागन बोट फेस्टिबल महत्वपूर्ण महोत्सवका रुपमा लिन्छन् । चाइनिज क्यालेन्डर ‘लुनार’अनुसार पाँचौं महिनामा यसलाई भव्य रुपमा मनाउँदै आएका छन् ।