काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आज बोलाएको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको छ । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएकाले बैठक पछि सारिएको बताइएको छ ।
केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ । पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरेको थियो। श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको छ।
श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ। मेडिकल व्यवसायी प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडिओ आफ्नो नभएको दाबी बयानका क्रममा श्रेष्ठले गरेका छन्। उनले अडिओ एडिट गरिएको दाबीसमेत गरेका छन् । श्रेष्ठसँग सोधपुछ गरेर अनुशासन समिति प्रमुख भरतमणि देवकोटाले प्रतिवेदन पार्टीमा बुझाइसकेका छन्।
उक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाइएको छ। अनुशासन समितिले बुझाएको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरी आवश्यक छलफल र निर्णय लिने तयारीमा रास्वपा छ। २ करोड मागेको अडिओ श्रेष्ठकै रहेको पुष्टि भएमा रास्वपाले सांसद र पार्टीको साधारण सदस्यबाट उनलाई हटाउने सम्भावना छ।