ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमारको सांसद पद गएको छ । पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेसँगै उनको सांसद पद गएको हो । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रवि लामिछानेले जानकारी दिए । उनले भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’ लेनदेन भएको नदेखिए पनि पैसा मागेको अडियो उनकै भएकाले कारबाही गरेको सभापति लामिछानेले बताए ।

यद्यपि पार्टीको विधान अनुसार श्रेष्ठले पुनरावेदन भने गर्नसक्ने उनले बताए । सार्वजनिक भएको अडियो सम्वादमा सांसद श्रेष्ठले सभापति रवि लामिछानेको कोर टिमले पैसा मागेको भनेका थिए । श्रेष्ठले निरन्तर बोली फेरेको र अहिले बार्गेनिङमा उत्रिएको आरोप समेत सभापति रविले लगाए । ‘कोर टिम नै मैले बुझेको छैन, पार्टी स्थापनाको कोर टिम भनेको हो कि मेरो सचिवालय भनेको हो कि ? त्यो स्पष्ट छैन’, उनले भने ।


श्रेष्ठले कोर टिम सार्वजनिक गरे के हुन्छ भन्ने प्रश्नमा रविले तथ्यसहित आए कारबाही गर्ने बताए । ‘उहाँले नाम लिनेवित्तिकै कारबाही गर्नुपर्छ भन्ने भएन । किनकी उहाँ एक लेभलले बार्गेनिङको तहमा आउनुभएको छ’, उनले भने, ‘म सकिएँ भने पार्टीलाई पनि छोड्दिनँ, जसलाई भनेपनि हुन्छ भन्नुभएको छ ।’