तनहुँ । तनहुँमा जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको प्रहरीले जनाएको छ । ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको हो ।
बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाका अनुसार ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् । घाइते ८ जनाको थप उपचारका लागि चितवन रिफर गरिएको छ ।