काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो। उनी दुई महिनादेखि काठमाडौंमा बसेको खुलेको छ ।
उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो। त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुगेको थियो । टोली पुगेपछि बमजनले आफूलाई पक्राउ गर्न आएको भेउ पाएसँगै भाग्न खोजेका थिए । उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएको खुलेको छ । बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको छ ।