तराई-मधेषका सबैजसो जिल्लामा शीतलहर

Photo : TKP

काठमाडौं । तराई मधेसका सबैजसो जिल्लामा शीतलहर चलेको छ । शीतलहर अझै केही दिन लम्बिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्हरुका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै फरक नभएको अवस्था नै शीतलहर हो ।

अधिकतम र न्यूनतम तापक्रम झण्डैझण्डै उस्तैउस्तै छ । सिमरादेखि नेपालगञ्जका धेरैजसो क्षेत्रमा मध्यम किसिमको शीतलहर र नेपालगञ्जदेखि पश्चिम तराईका जिल्लामा मन्द शीतलहर चलेको छ । शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ ।

यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।