काठमाडौं । ताइवानको नयाँ राष्ट्रपतिमा विलियम लाईले शपथ लिएको तीन दिनपछि चीनले उक्त प्रायःद्वीपवरपर सैन्य अभ्यास सुरु गरेको छ। चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सीले उक्त अभ्यासलाई ‘पृथकुतावादी गतिविधिहरू’ विरुद्धको कठोर सजाय भनेका छन्। चीनको सैन्य अभ्यास बिहीवार सबेरैबाट सुरु भएको हो। चीनसँगको सम्बन्ध हेर्ने ताइवानको सरकारी निकायले नेतृत्वले ताइवानको स्वतन्त्रता र लोकतान्त्रिक पद्धतिको प्रतिरक्षा गर्ने बताएको छ।
उक्त अभ्यास मुख्य टापुसहित ताइवान स्ट्रेट र त्यसको पश्चिम अनि ताइपेईको नियन्त्रण रहेका जिन्मन, मात्सु, वुचियु र डोङ्यिन क्षेत्रवरपर भइरहेको छ।
ताइवानको रक्षा मन्त्रालयले बेइजिङको कदमलाई अर्थहीन उत्तेजना भनेको छ। ताइपेईले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि जल, वायु र स्थलसेना खटाएको मन्त्रालायको भनाइ छ।
जापानले चिनियाँ सैन्य अभ्यासबारे चासो व्यक्त गरेको छ। जापानको मन्त्रिपरिषद्का मुख्य प्रवक्ताले ताइवान स्ट्रेटमा विकसित घटनाक्रमलाई जापानले नियालिरहेको बताउँदै त्यहाँ शान्ति र स्थिरताको महत्त्वको विषयमा सोझै चीनसँग कुरा गर्ने बताएका छन्। चीनको सेनाले आफ्नो अभ्यास समुद्री र वायु युद्धको तयारी गस्ती, प्रमुख निसानाहरूमा हमला र उक्त टापुको भित्री र बाहिरी क्षेत्रमा एकीकृत कारबाहीमा केन्द्रित रहेको जनाएको छ।
त्यसको उद्देश्य आफ्नो फौजको वास्तविक संयुक्त युद्ध क्षमता परीक्षण गर्नु उसको भनाइ छ। “यो ताइवानमा स्वतन्त्रता खोज्ने पृथक्तावादी गतिविधिविरुद्धको कठोर सजाय र बाह्य शक्तिहरूको हस्तक्षेप र उत्तेजनाविरुद्धको कडा चेतावनी पनि हो,” उसले भनेको छ। लामो समयदेखि स्वशासन भएको ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र भएको ठान्छ। तर चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।
बेइजिङले लाईलाई विगतमा उनले ताइवानको स्वतन्त्रताको पक्षमा दिएको अभिव्यक्तिका कारण पृथक्तावादी र समस्याकारी मान्ने गरेको छ। गत साता लाईले चीनलाई ताइवानविरुद्ध धम्की दिन बन्द गर्न भनेका थिए। बेइजिङले उक्त मन्तव्यको निन्दा गरेको थियो र विदेशमन्त्री वाङ यीले लाई कलङ्क भनेका थिए। बीबीसी