ताइवान मुद्दामा नेपालको सन्देश, एक चीन नीतिमा कट्टिवद्ध

काठमाडौं । अहिले ताइवान र चीनबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ । यसमा अमेरिका समेत जोडिएको छ । यस मुद्दामा नेपाल चीनको पक्षमा रहेको सन्देश चिनियाँ सरकारलाई दिएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना समकक्षीलाई भेटेर एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताए । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छिङ्दावमा भएको भेटवार्तामा नेपालले यस्तो प्रतिवद्धता जनाएको हो ।

भेटमा मन्त्री खड्कालले एक चीन नीतिमा नेपाल प्रतिवद्ध रहेको बताए । साथै उनले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने बताएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङले पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । साथै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकासमा सहयोग जारी राख्ने बताएका छन् ।

दुई देशका बिदेशमन्त्रीबीच नेपाल चीन सीमा निरीक्षण समितिको काम अघि बढाउन द्विपक्षीय प्राविधिक समिति बनाउने तथा दुई देशबाट भएका उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिहरु समयमै कार्यान्वयन गर्ने सहमति भएको छ । चिनियाँ टोलीले काठमाडौं चक्रपथ विस्तार परियोजना (कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड) को निर्माण तत्काल थाल्ने बताएको छ । केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहायता दिने दोहोर्‍याएको छ ।

नेपाल चीन क्रस बोर्डर ट्रान्समिसन लाइनको पूर्व सम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने बताएको छ । चिनियाँ विदेशमन्त्री वाङले नेपालका लागि ८०० मिलियन आरएमबी दिने घोषणा गरेका छन् । नेपालको आग्रहअनुसार रासायनिक मल दिन सकारात्मक रहेको चीनले नेपालमा उद्योग खोल्न पनि सघाउने बताएको छ ।

केरुङ र तातोपानी नाका दुईतर्फी र हिल्सा(पुलाङ नाका एकतर्फी रुपमा खुला गर्न पनि दुई देशका परराष्ट्रमन्त्री सहमत भएका छन् । यसरी नाका खोल्दा सीमामा महामारी रोकथामको संयन्त्र स्थापना गर्ने सहमति छ । चीनले प्राकृतिक विपत्तिमा परेका नेपालीहरुका लागि ३ मिलियन आरएमबी बराबरको राहत सामाग्री तथा २ मिलियन आरएमबी बराबर मेडिकल सामाग्री दिने भएको छ । विदेशमन्त्री वाङले नेपालको आग्रह गरे कोरोनाविरुद्धको खोप र स्वास्थ्य सहयोग दिन तयार रहेको बताए ।

बेइजिङस्थित नेपाली दूताबासका अनुसार विदेशमन्त्री वाङले ब्लड क्यान्सरको विरामीको उपचारका लागि ‘सीएआर टी सेल’ उत्पादन ल्याब्रेटोरी सिभिल अस्पतालमा स्थापना गर्न सहयता प्रदान गर्ने घोषणा समेत गरे । आफ्नो अध्ययन पुरा गर्न चीन फर्किन चाहेका नेपाली विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर भिसा प्रक्रिया अघि बढाउनसक्ने समेत उनले बताए ।