काठमाडौं । अरब सागरमा उत्पन्न भएको ताउ ते नामक आँधीको प्रभाव आज नेपालमा पूर्ण रुपमा देखिने भएको छ । यसको प्रभाव शुक्रबार सम्म रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी छ ।
आज दिनभर देशभर पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको संभावना छ। पश्चिमी न्यून चापीय प्रणाली र भारतको राजस्थान आसपासमा रहेको ताउ ते चक्रवातको असरका कारण पानी पर्न थालेको हो ।
महाशाखाका अनुसार गतराती कञ्चनपुरमा भारी वर्षा भएको छ। गएराति काठमाडौंमा ४ दशमलव ६ मिलीमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार भारतको राजस्थान आसपास रहेको चक्रवातको असर क्रमशः कमजोर बनिरहेको छ । शुक्रबार अझ कमजोर हुनेछ । महाशाखाले शुक्रबारसम्म पर्वतारोहण समेत नगर्न सचेत गराएको छ ।