तातोपानी नाका हुँदै चीनबाट आयो लिक्विड अक्सिजन

सिन्धुपाल्चोक । चीनले अनुदानमा दिएका ठूलो परिमाणको लिक्विड अक्सिजन आज तातोपानी भन्सारबाट नेपाल प्रवेश गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले यसको पुष्टी गरेको हो । यो सामग्री चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको हो । ल्हासास्थित महावाणिज्य दूतावासबाट १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्ग हुँदै तातोपानी पठाएको हो ।

लिक्विड अक्सिजनका १५० सिलिण्डर अब काठमाडौं ल्याइने भएको छ । नाकामा आइपुगेको यो लिक्विड अक्सिजनले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न सकिने भएको छ । यसले एक साथ धेरै बिरामीले अत्यावश्यक अक्सिजन प्राप्त गर्न सक्नेछन् ।

तिब्बतबाट लिक्विड अक्सिजनसहित थप २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरसहितका सामान समेत आउने क्रममा छन् । यी सबै चीन सरकारले अनुदानमा दिएको छ । कोरोना भाइरसको दोस्रो लहरको महामारीमा चीन सरकारले नेपाललाई उच्च प्राथमिकताका साथ सहयोग गरिरहेको छ ।