ताप्लेजुङ । ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै राससले जनाएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।
स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।
प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् । घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको छ । आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।