ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखे अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो ।

मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । उनीहरू आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको डीएसपी राईले जानकारी दिएका छन् । घटनाको थप विवरण आएको छैन ।