तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

Photo : Zee News

नयाँ दिल्ली । बुधबार भारतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका सबैभन्दा माथिल्लो पदका अधिकारी बिपिन रावतसहित १३ को मृत्यु भयो । आगोले जलेर शवहरु चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी रावत र उनकी पत्नीको शवको भने पहिचान बुधबार नै भएको थियो । यस्तो भयानक दुर्धटनामा समेत एक चमत्कारको आश अझै गरिएको छ । त्यो हो हेलिकोप्टरका चालक क्याप्टेन वरुण सिंहको स्वास्थ्यमा नाटकीय सुधार ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार यो घटनबारे राज्यसभामा जानकारी गराएका छन् । उनले त्यहाँ ग्रुप क्याप्टेन वरुण सिंहको स्थितिबारे पनि बयान दिए । उनका अनुसार सिंहको स्थिति गम्भीर तर स्थिर छ । यसै वर्ष अगस्ट महिनामा सिंहलाई शौर्य चक्र प्रदान गरिएको थियो। उनले उडाएको तेजस विमानमा उडानको समयमा प्राविधिक समस्या आएको थियो तर उक्त आपत्कालीन स्थितिमा सिंहले तेजसको सुरक्षित अवतरण गराउन सफल भएका थिए।

संसारभरबाट उनको स्वास्थ्य लाभको कामना भइरहेको छ । यसैबीच, रावत र उनकी श्रीमतीको अन्तिम संस्कार शुक्रवार दिल्लीमा गरिने भएको छ । सोही सिलसिलामा उनको शव दिल्ली लगिएको छ ।