तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली

Gorakhapatra

हुम्ला । तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सोलार मिनी ग्रिडबाट हिल्सामा एक सय किलोवाट विद्युत् उत्पादन सुरु भएको बताएका छन् ।

उपभोक्ताले घरमा बिजुली बाल्न सुरु गरिसकेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले जनाएको छ । थापाका अनुसार एक वर्षअघिदेखि यो आयोजनाको निर्माण तथा सौर्य प्यानल खरिद, ढुवानी र जडानका लागि निर्माण कम्पनीसँग सम्झौता भए पनि हिमपातका कारण सामान ढुवानी गर्न नसकिएकाले काम ढिलो भएको थियो । अब नेपाली भूभाग हिल्सामा पनि पूर्ण रूपमा विद्युतीकरण भएको बताउँदै उनले हिल्साका एक सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए ।

हिल्सावासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा सुरक्षा चौकीलाई समेत अब विद्युत्को समस्या समाधान भएको छ । उक्त मिनी ग्रिडका लागि नेपाल सरकार, नाम्खा गाउँपालिका, फिनल्यान्ड सरकार र युरोपियन युनियनको गरी साढे चार करोड रुपियाँ खर्च भएको छ ।

हिल्साका होटल व्यवसायी कर्मा लामाले सौर्य विद्युत् उत्पादन भएपछि यसअघि व्यक्तिगत खर्चमा राखिएका सौर्य प्यानल, मैनबत्ती वा टुक्की बाल्नुपर्ने हिल्सावासीको बाध्यता अब हटेको बताए । मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएपछि त्यसको जिम्मेवारी हिल्सा सोलार मिनी ग्रिड सहकारी संस्थालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।