तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

काठमाडौं । जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न भएको अभियोगमा नायब सुब्बा पक्राउ परेका छन् । सोमबार प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नासु प्रशासन फाँटमा कार्यरत छन् । एक गिरोहले प्रशासनका कर्मचारीसँगको मिलेमतोमा करिब ५०० नागरिकता तिब्बती नागरिकलाई दिलाएको खुलेको छ । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

झापा घर भई इमाडोल बस्ने ४७ वर्षीय कृष्णबहादुर कटुवाल, बबरमहल घर भई मध्यपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ घर भई धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको तिब्बतियन शरणार्थी क्याम्पमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र गोदावरी बस्ने ३० वर्षीय विजय लामालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि सोधपुछ पछि प्रहरीले नासुलाई पक्राउ गरेको हो। उनीबाट थप व्‍यक्तिहरूको पहिचान खुल्ने प्रहरीको भनाई छ । प्रशासनबाट नागरिकता दिलाउने गिरोहका मुख्य आरोपी कृष्णबहादुर कटुवाल हुन्। उनले ३ देखि ५ लाखसम्म लिएर तिब्बतीलाई नागरिकता दिलाएको खुलेको थियो। विजय लामा भने ९ वर्षदेखि प्रशासनको क्यान्टिनमा काम गर्थे। त्यहाँबाट उनले भित्री सेटिङ मिलाउने काम गरेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो।