तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतबीच छलफल भएको छ । शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक भएको भन्दै उनले यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा. रुइतलाई बहराइन सरकारले ‘इसा अवार्ड’दिने घोषणा गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताए । ‘यो अवार्डले देशकै सम्मान बढाएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो ।’

प्रधानमन्त्री दाहालले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको भन्दै मोतिया बिन्दुको उपचारका लागिसमेत नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।