काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रमुख साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए ।
उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने जिकिर गरे । उनले त्यसका लागि जग्गाधनीहरूले स्थानीय सरकार र सङ्घ सरकारलाई दबाब दिन सुझाव दिए ।
उनले उक्त जग्गा सरकारले लुटेर राखेको र प्रक्रिया अघि बढिरहेको कुनै पनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गरे । अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उनको दाबी छ । प्रमुख साहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताए ।