तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

काठमाडौं । नेपालमा कोरोना भाइरसको दैनिक संक्रमण तीन अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा मात्र ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार कुल ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

१३७१ जना संक्रमणमुक्त भएका छन् । अब देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ । जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् । १३६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् । चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण देखिएको आंकडा छ ।