तीन बालकमाथि यौनजन्य कसुर गरेको आरोपमा पोखराबाट क्यानडेली नागरिक पक्राउ

पोखरा । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई यौनजन्य कसुर गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्ले शनिबार पक्राउ परेका हुन् । तीन जना बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा उनी पक्राउ परेको बताइएको छ । राससका अनुसार बालकहरुको उद्धार समेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको समेत प्रहरीले जनाएको छ ।