त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ

७ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मापरेको छ । अख्तियारले बुधबार नै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई समेत पक्राउ गरेको छ । उनलाई बिहीबार उपस्थित हुनेगरी साँझ छाडिएको छ ।

उनी यसअघि विमानस्थल अध्यामगन कार्यालयको प्रमुख थिए । उनलाई पक्राउ गर्नुका साथै छापा मार्नुको कारण मानव तस्करीसँग सेटिङ गरेको आरोप लागेको स्रोतले बताएको छ । उनको मोबाइल अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा संलग्नता रहेको पाइएको र यसबारे विस्तृत अनुसन्धान भइरहेको समेत स्रोतको दावि छ ।


प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरिएको थियो । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्यूटी हुने भएकाले तीन समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।