त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्‍गा, ड्रोन तथा बेलुन उडाए कारवाही हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यस क्षेत्रमा पटक पटक यस्ता वस्तु उडाउने गरेको र यसले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै यस्तो गतिविधि नगर्न भनेको हो ।

चङ्‍गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट बाल्दा सुरक्षामा असर गर्न सक्छ । सोहीकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उड्ने क्षेत्रमा यस्ता गतिविधि नगर्न सचेत गराउँदै आएको छ । यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा कानून अनुसार कारवाही हुने कार्यालयको भनाइ छ ।