काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियक्ति गर्न आह्वान भएको विज्ञापन रद्द गरिएको छ । उपकुलपतिको योग्यतासम्बन्धी मापदण्ड विवादित भएपछि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले विज्ञापन रद्द गरेको जनाएको छ । समितिले २० पुसमा उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट दरखास्त माग्दै विज्ञापन खुलाएको थियो।
खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो। सो मापदण्ड विवादित बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञापन रद्द गर्न निर्देशन दिएका थिए। समितिले आज अर्को सूचना निकालेर विज्ञापन रद्द गरिएको जनाएको छ। रद्द भएपछि उपकुलपति नियुक्तिका लागि समितिले अर्को विज्ञापन जारी गर्नेछ।