काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने सबै प्रकारका परीक्षा नरोकिने भएको छ । परीक्षाबारे अन्यौल उत्पन्न भइरहेको समयमा विश्वविद्यालयले यस्तो जानकारी गराएको हो । भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने त्रिविले जनाएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने छ ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएका छन् । विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यो परीक्षा २८ साउनमा सकिने छ । यो परीक्षा पठनपाठन शुरु भएको २० महिनापछि लिइएको छ ।
उता, स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा कार्यक्रम पनि जारी छन् । भदौ ५ गतेपछिको परीक्षाबारे भने कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी निर्णय गरिने भएको छ । विश्वविद्यालयले भदौ ११ गतेबाट स्नातक तहतर्फ एलएलबी प्रथम वर्षको परीक्षा कार्यक्रम राखेको छ ।
त्यसैगरी भदौ २७ गतेबाट एलएलबी दोस्रो वर्षको परीक्षा गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ । भदौ २५ गतेबाट स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारी विश्वविद्यालयको भए पनि परीक्षा कार्यतालिका सार्वजनिक गरिएको छैन । राष्ट्रिय परीक्षा बोर्डले भने ३१ साउनमा निर्धारित पूर्वघोषित कक्षा १२ को परीक्षा स्थगित गरेसँगै त्रिविमा अन्यौल बढेको थियो ।