त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने

काठमाडौं । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा पालिकाको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।


क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने परियोजनाले जनाएको छ ।

परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकिएका फोहर सङ्कलन तथा ुपुनप्रयोगु गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको कार्यक्रम उनले बताए ।


कार्यक्रमअन्तर्गत समुदायमा पैरवी, नदी सरफाइ अभियानलगायतका काम हुनेछन् । विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिक मुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने परियोजनाले जनाएको छ ।