थप ९ कम्पनीको स्यानिटाइजर बिक्रि र प्रयोगमा प्रतिवन्ध

काठमाडौं । सरकारले पछिल्ला दिनमा स्यानिटाइजरको गुणस्तर मापन तिब्र बनाएको छ । त्यस क्रममा थप ९ वटा कम्पनीको स्यानिटाइजर बिक्रिमा प्रतिवन्ध लागेको छ । बजारमा प्रयोग हुँदै आएका नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको
पाइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।

विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा हानिकारक रसायन मिसाइएको भेटिएको हो । यसअघि पनि विभागले करीव एक दर्जन कम्पनीका उत्पादनमा यस्तै हानिकारक रसायन भेटिएपछि बिक्री र प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

विभागका अनुसार ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे र साधना सप्लायर्स काठमाडौंको ह्याण्ड स्यानिटाइजरमा रसायन भेटिएको छ ।

यसैगरी कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेडका उत्पादनमा समेत प्रतिवन्ध लागेको छ । यस्तो रसायनबाट वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्नेसम्मको खतरा हुन्छ ।