थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो

काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्
त्यहाँका व्यवसायीसँग बिहीबार बैङ्ककमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरे ।

नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले थाई व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक थुप्रै कानुन संशोधन तथा परिमार्जन गरिएको जानकारी गराए । उनले सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता जनाए ।


उनले नेपालमा लगानीका अवसर र सम्भावनाबारे भ्रमणमा सहभागी निजी क्षेत्रका प्रतिनिधिसँग धारणा बुझ्न र निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए । भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीका लागि सहज वातावरण रहेको जानकारी थाई उद्यमी व्यवसायीलाई गराए ।

नेपालमा उत्पादनमूलक उद्योग स्थापना गर्दा बजारका लागि भारत र चीन जस्ता धेरै जनसङ्ख्या भएका मुलुक रहेको भन्दै नेपालमा लगानी गर्दा थाई व्यवसायीले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताए । ढकालले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा लगानीको राम्रो सम्भावना रहेको जानकारी गराए । “पछिल्लो पटक सरकारले गरेका नीतिगत सुधारले बाह्य लगानीलाई आकर्षित गर्ने अवस्था छ । निजी क्षेत्रका तर्फबाट पनि म थाई व्यवसायीलाई लगानीका लागि आग्रह गर्दछु,” अध्यक्ष ढकालले भने ।