काठमाडौं । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक होटलमा छ विदेशी नागरिक मृत फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र गोलाबारी हुँदा भएको भन्ने हल्ला निराधार रहेको बताएका छन् । उनले शव परिक्षण गरेर मात्र घटनाबारे थप जानकारी हुने भन्दै प्रहरीलाई शव परीक्षण गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री थाभिसिनकाअनुसार मृतक छ जना भियतनामी नागरिक रहेकामा उनीहरुको हत्यामा अर्का एकजना भियतनामी नागरिक नै संलग्न रहेको हुनसक्ने अनुमान छ । बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत नपाइएकोले सबैले विषाक्त पदार्थ खाएको हुनसक्ने अनुमान रहेको बताए ।