दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो

काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सुपर–८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । गौसले यसअघि दक्षिण अफ्रिकाबाट यू–१९ क्रिकेट खेलेका थिए ।

हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए । एक समय ११.१ ओभरमा ७६÷५ को अवस्थामा पुगेको अमेरिकालाई छैटौं विकेटका लागि हरमीत र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।

अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो । कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १–१ विकेट लिए । त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।