दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन

काठमाडौं । देशभर अविरल वर्षातका बीच आजैका दिन काठमाडौंबाट २१ वर्षअघि एक सनसनीपूर्ण, दुखद र अविश्सनीय खबरले विश्वभर तरंग फैलिएको थियो । नेपालमा राजतन्त्रलाई धेरै मानिसहरु भगवान विष्णुको अवतार मान्थे । दरबार भित्रका दाउपेचबारे पढ्दै र सुन्दै आएका जनताले आधुनिक युगमा यतिसम्मको विभत्स घटना हुन्छ भन्ने कल्पना भने गरेका थिएनन् । २०५८ साल जेठ १९ गते राती ९ बजे नारायणहिटीस्थित दरबारमा तत्कालिन राजा वीरेन्द्र र उनको सम्पूर्ण वंशको हत्या भएको हो ।

दरबार हत्याकाण्डको आज ठ्याक्कै २१ वर्ष पुगेको छ । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यको पर्दामै छ । छानविन आयोगले तत्कालिन राजकुमार दीपेन्द्रबाट यो घटना भएको बताउँछ । तर, आम मानिस भने यो स्वीकार गर्न तयार छैनन् ।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो । यो घटना नेपालमा राजतन्त्र अन्त्य हुने विविध कारणमध्ये निर्णय बन्न पुगेको थियो । अहिले नारायणहिटी दरबार सङ्ग्रहालय बनाइएको छ ।