दलाई लामाले किन माग्नु परेको हो माफी ?

bbc

काठमाडौं । दलाई लामाले एक बालकलाई मेरो जिब्रो चुस भनेको सुनिने भिडिओ सार्वजनिक भएपछि भारतमा निर्वासनमा रहेका ती तिब्बती धर्मगुरुले क्षमा मागेका छन्। लामाको कार्यालयका अनुसार उनले ती बालक र उनको परिवारसँग आफ्नो शब्दका कारण पुगेको चोटका लागि क्षमायाचना गरेका हुन्।

उक्त भिडिओमा दलाई लामाले ती बालकलाई ओठमा चुम्बन गरेको पनि देखिन्छ। उहाँ आफूले भेटेका मानिसहरूलाई सार्वजनिक स्थान र क्यामराअगाडि प्रायः अबोध र रमाइलो किसिमले जिस्काइरहनुहुन्छ। उहाँलाई यो घटनामा पश्चात्ताप छ, उनको कार्यालयले भनेको छ। उक्त भिडिओ सार्वजनिक भएपछि दलाई लामाको धेरै आलोचना भएको छ।


दलाई लामाको कार्यालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार ती बालकले दलाई लामालाई अङ्कमाल गरौँ भनेर सोधेका थिए। प्रतिक्रियामा दलाई लामाले आफ्नो गाला देखाउँदै पहिला यहाँ भने। ती बालकले दलाई लामालाई गालामा चुम्बन गरे अनि अँगालो हाले। त्यसपछि ती बालकको हात समाएर दलाई लामाले आफ्ना ओठ देखाउँदै यहाँ पनि भने अनि ती बालकको ओठ चुमिदिए।

त्यसपछि दलाई लामाले ती बालकको निधारसँग आफ्नो निधार जुधाए र आफ्नो जिब्रो मुखबाट बाहिर निकाल्दै भने, मेरो जिब्रो चुस। त्यो सुनेर अरू मानिसहरू हाँसे। बालक र दलाई लामा दुवै जनाले आआफ्नो जिब्रो बाहिर निकाले। त्यसपछि फेरि अङ्कमाल गर्दै दलाई लामाले ती बालकसँग केही बेर कुरा गरे। उनले ती बालकलाई शान्ति र खुसी सिर्जना गर्ने असल मानव बन्ने सुझाव दिए।

उक्त घटना गत फेब्रुअरी २८ मा भारतको धरमशालास्थित उनको मन्दिरमा भएको बताइएको छ। उक्त दिन दलाई लामाले १२० जना विद्यार्थीसँग अन्तर्क्रिया गरेका थिए। उक्त अन्तर्क्रिया आयोजना गर्ने संस्थाले मार्च महिनामा भएका कार्यक्रमका तस्बिरहरू सामाजिक सञ्जालमा प्रकाशित गरेको थियो। तीमध्ये अहिले चर्चामा रहेको भिडिओमा देखिने बालकसँग अङ्कमाल गरेको तस्बिर पनि छ। तिब्बती परम्परामा कसैलाई अभिवादन गर्न मुखबाट जिब्रो बाहिर निकाल्ने चलन पनि छ।

चिनियाँ शासनविरुद्ध विद्रोह भएपछि सन् १९५९ मा तिब्बतबाट भागेका दलाई लामा भारतमा निर्वासनमा छन्। उनको वास्तविक नाम तेन्जिङ ग्यात्सो हो। उनी दलाई लामाका १४ औँ अवतार हुन्। तिब्बतका एक प्रमुख लामाका रूपमा पुजिने दलाई लामालाई तिब्बती बौद्ध परम्पराअनुसार अवलोकितेश्वरको अवतार मानिन्छ।