दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

काठमाडौं । विगतमा सत्ता जोगाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर प्रधानमन्त्री शेर बहादुर देउवाले अन्ततः केपी ओलीकै पार्टी फुटाइदिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधवार निवेदन दिए । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी दल दर्ता स्वीकृत गर्नेछ । माधवकुमार समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

उता, जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहले पनि बुधवार नै नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ। ठाकुरको नेतृत्वमा नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ। वरिष्ठ नेता राजेन्द्र महतो रहनेगरी २४ सदस्यीय कार्यकारिणी समिति बनाइएको छ । विगतमा दलहरुको फुटले सरकार अस्थिर भएको भन्दै संविधानमा दल फुटाउन कडा प्रावधान राखिएको थियो । तर, यो प्रावधानलाई अध्यादेशमार्फत दलहरुले दुरुपयोग गरेका छन् ।