काठमाडौं । सत्तारुढ दलहरुले बिहीबार सरकार बिस्तारको तयारी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने र त्यसपछि सरकार बिस्तार समेत सँगै गर्ने तयारीमा दलहरु पुगेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि उनले यस्तो जानकारी गराएका हुन् । बिहीबार नै अध्यादेशको विषय टुंगिने उनले बताए । उनका अनुसार भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउने भएको हो । सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।
उक्त व्यवस्था अनुसार नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । जनता समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरसहितका नेताले लोकतान्त्रिक समाजवादी पार्टी समेत यही प्रावधान अनुसार गठन भएको हो । यो विषय नटुगिएपछि सरकार बिस्तार समेत रोकिएको थियो ।