दाङमा एकै घरका दाजुभाई मृत फेला

file

काठमाडौं । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।

मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् । उनीहरू बस्दै आएको घरमा घरधनी बस्ने नगरेको पाइएको छ । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्किएपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरीले बताएको छ ।

डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको हो । एउटै कोठाका दुई वटा खाटमा उनीहरु मृत फेला परेका हुन् । शव गन्हाइसकेकाले उनीहरुको दुई\तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।