दाङ । दाङमा तीन साता अगाडी एउटै खाल्डोमा पुरिएको अवस्थामा भेटिएका किशोर किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी भएको छ । रोशनी महतरा र शरद आचार्यको हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई सार्वजनिक गरेको छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार यी चार जनाले असोज २७ गते राति जंगली बँदेल मार्न विद्युतीय धराप थापेका थिए । सोही धरापमा परी रोशनी र शदरको ज्यान गएको प्रहरी अनुसन्धानले देखाएको छ । तुलसीपुर १३ स्थित जनकल्याण सामुदायिक वनमा उनीहरू दुबैको शव एकै ठाउँमा पुरिएको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो।
एसपी वलीका अनुसार असोज २७ गते राति करिब १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युतको तार तानेर नजिकैको जंगलमा बँदेल मार्न पासो थापेको र त्यहीँ पासोमा परेर उनीहरूको सोही दिन राति मृत्यु भएको हो। पासो थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेको प्रहरीले बताएको छ।
शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको हो । त्यसपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोवाईल र चप्पलसमेत जंगलको झाडीमा लुकाएका थिए । पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। उनीहरू बिरूद्ध थप अनुसन्धानका लागि एक साताको म्याद थप भइसकेको छ।