दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवाका १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अवस्थामा मृत फेला परेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
बिहीबार नै घोराही उपमहानगरपालिका १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर स्थानीय ३० वर्षीया विमला घर्तीमगरको मृत्यु भएको छ । बिहीबार बिहान जलाशयमा नुहाउन गएको बेला उनी चिप्लिएर डुबेकी थिइन् । उनको शवको पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको दाङका प्रहरी प्रवत्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।
बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोर बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका १० नारायणपुरका १६ वर्षीय प्रसान्त वली बेपत्ता भएको समाचारमा उल्लेख छ ।