दार्चुला । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी निरीक्षक मगरका अनुसार बाढीमा फसेकाहरूको अहिले सुरक्षाकर्मीको टोली उद्धार गरिरहेको छ ।
उनीहरूलाई उद्धार गरि स्थानीय सामुदायिक सेवा केन्द्रमा राखिएको छ । बाढीले लास्कु खोलाकै झोलुङ्गे पुल पनि बगाएको छ । उक्त पुल बगाएपछि खोला पारिको वस्ती आवातआजतबाट वञ्चित भएको छ । खोला पारिको वस्तीका नागरिक फोन सम्पर्क भए पनि पुल भत्किएकोले राहत वितरणमा कठिनाइ हुने प्रहरी निरीक्षक मगरले बताए ।
सोही झोलुङ्गे पुल विस्थापित गर्न बनिरहेको पक्की पुल पनि बाढीले बगाएको छ । लास्कु खोलामा आएको बाढी महाकाली नदीमा मिसिएको छ । यसले महाकाली नदी आसपासमा पनि क्षति गर्न सक्ने भन्दै स्थानीय प्रशासनले सचेत गराएको छ ।