दार्चुला पहिरोमा ५ जनाको शव भेटियो, अझै ७ वेपत्ता

दौलतसिंह ठगुन्ना

दार्चुला । दार्चुलामा आज बिहानै आएको पहिरोमा पुरिएर वेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ । ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको छ ।

महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पनि शव भेटिएको छ । महाकाली नगरपालिका–१ का धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना भने बेपत्ता छन् । उनीहरुको घर पहिरोले पुरिएको छ । महाकाली नगरपालिका–२ मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन । उनका श्रीमान् ६४ वर्षीय हर्कसिंह शाहुलाई घाइते अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परेर बेपत्ता भएको अन्य तीन जनाको परिचय खुलेको छैन ।