काठमाडौं । दिल्ली विधानसभा निर्वाचनमा अनपेक्षित नतिजा आउने क्रम जारी छ । दिल्लीमा निरन्तर लोकप्रिय मतले जित्दै आएका हाम आदमी पार्टीका संयोजक अरविन्द केजलीवालले नै चुनाव हारेका छन् । आपका नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट पराजित भएका हुन् । अर्का ठूला नेता मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन्। वर्तमान मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएकी छन्। अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।
केजरीवाललाई भाजपा उम्मेदवार प्रवेश वर्माले हराएका हुन् । दिल्लीमा भाजपा मुख्यालयमा विजयोत्सव मनाइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । सन् २०२० मा भाजपाले जम्मा ८ सिट मात्र जितेको थियो, तर सन् २०२५ मा ६ गुणा बढी जित निकाल्दै ४८ सिट जित्नेतर्फ अगाडि बढेको छ ।
केजरीवालको नयाँ दिल्ली सिटमा २० जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरूले अत्यन्तै कम मत प्राप्त गरेका छन् । केजरीवाल प्रवेशबर्मासँग ३ हजार मतले पराजित भएका छन् । उता संदीप दीक्षितले केवल ३ हजार ८७३ भोट मात्र पाए । सन् २०२० को तुलनामा भाजपाले ३९ सिट थप्ने देखिएको छ आपले ३९ सिट गुमाउने सम्भावना देखिएको छ । भाजपाको भोट शेयर ९ प्रतिशतले बढेको छ भने आपको भोट शेयर १० प्रतिशतले घटेको छ । कांग्रेसले कुनै सिट जित्न नसके पनि भोट शेयर २ प्रतिशतले बढाएको छ ।