दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारको टाउको दुखाई बनेको छ ।

ठूलो जनसंख्या भएको भारतमा एकसाथ धेरै जनामा यो भाइरस संक्रमण हुने डरले स्कूल, कलेज तथा सिनेमा हल बन्द गरिएको छ ।

बिहीबार नयाँ दिल्लीका मुख्यमन्त्री अर्विन्द केजरीवालले मार्च ३१ तारिखसम्मका लागि सबै विद्यालय, कलेज तथा फिल्म हल बन्द गर्ने घोषणा गरे ।

जारी रहेका परीक्षासमेत बन्द भएका छन् । यसअघि सरकारले भारतमा पर्यटक भिसा बन्द गरेको थियो ।

बिहीबारसम्म भारतमा ७३ जनामा यसको संक्रमण पुष्टी भएको छ । बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजालमार्फत सबै एकजुट भएर यस रोगविरुद्ध मुकाविला गर्ने बताएका छन् ।

उनका अनुसार कोरोनाको संक्रमण अन्त्य नभएसम्म केन्द्र सरकारका कुनै पनि मन्त्रीले विदेश भ्रमण गर्ने छैनन् । उनले आफ्ना नागरिकलाई समेत अत्यावश्यक नभएसम्म विदेश नजान सुझाव दिएका छन् ।