दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित

ाकठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले राजधानी सहर दिल्लीमा २७ वर्षपछि आफ्नो सरकार बनाउने निश्चित भएको छ।
दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार बनाउने निश्चित भएको हो । दिल्लीको ७० सदस्यीय विधानसभामा भाजपाले ४७ सिटमा जित हासिल गरेको छ। थप एक सीटमा अग्रता लिइरहेको छ।

विधानसभाको आधा अर्थात् ३५ सीट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न सक्छ। प्रधानमन्त्री मोदीले दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराखिने बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका छन्, विकासको जित भएको छ, सुशासनको विजय भएको छ। सन् २०१३ यता दिल्ली सरकार सञ्चालनको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) ले २२ सीट मात्र जितेको छ।

आपका नेता पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको विधानसभा सीट गुमाएका छन्। उनी भाजपाका उम्मेदवार प्रवेश बर्मासँग ३,००० भन्दा बढी मतान्तरले पराजित भए। चुनावमा आफ्नो हार स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो सन्देशमा भनेका छन्, जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताको साथ स्वीकार गर्छौँ।

उनले दिल्ली निर्वाचन परिणामलाई लिएर भाजपालाई बधाई दिएका छन्। देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए। भारतको राजधानी सङ्घीय प्रशासित क्षेत्र हो। मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो। तर पछिल्लो समय केजरीवालसहित उनको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ।

केजरीवाल र आपका नेताहरूले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्। भाजपाका लागि राजधानी सहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा मात्रै सीमित छैन। सन् १९९८ यता राजधानीमा सत्ता बाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्त्वपूर्ण आधार पाएको छ।
महाराष्ट्र र छत्तीसगढ लगायतका राज्यमा हालैका राज्यसभा निर्वाचनहरूमा सफलता हासिल गरेपछि भाजपाले आफ्नो सम्पूर्ण ध्यान दिल्ली निर्वाचनमा लगाएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह यहाँका चुनावी सभाहरूमा सहभागी भएका थिए। भारतको सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय न्याश्नल कांग्रेस पनि दिल्ली राज्यसभाको निर्वाचनमा सहभागी छ। यो दलले हालसम्म कुनै सीटमा अग्रता कायम गरेको छैन। कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो। तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्‍याएका थिए।