काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा सरकारले यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय र अन्य निकायबाट यस्तो खर्च भएको महालेखाले जनाएको छ ।
स्वास्थ्य सामग्री, औषधि उपकरण, संक्रमित व्यक्तिको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र निर्माण, राहत सामग्री, जोखिम भत्ता लगायतमा सो रकम खर्च भएको पाइएको छ । कोरोना महामारीका दौरान सरकारले ३ अर्ब रुपैयाँ बराबरको आयकर छुट दिएको पाइएको छ । यस्तो छुट कुल ५ लाख १२ हजार जना करदाताले लिएका छन् ।
आर्थिक वर्ष २०७७\७८ मा मात्र २ अर्ब ८९ करोड २९ लाख रुपैयाँ बराबरको आयकरमा छुट पाएको प्रतिवेदनमा उल्लेख छ । सरकारले सो वर्ष वार्षिक २ लाखसम्म आय हुनेलाई ९० प्रतिशत, २० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र वार्षिक १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट दिएको थियो ।
यसै आवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा ४० अर्ब ८१ करोड ८२ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण आयातमा राजस्व छूट दिइएको छ । तर, यसरी दिइएको भन्सार छुटबाट उपभोक्ताले लाभ पाए वा पाएनन् भन्ने अध्ययन भने नभएको महालेखाले उल्लेख गरेको छ ।