काठमाडौं । नेपाली कामदारले उच्च योगदान गरिरहेका दुई खाडी मुलुकका सरकारले आज नेपाललाई आफ्नै खर्चमा जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री पठाएका छन् ।
संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री उपहारस्वरुप पठाएका हुन् ।
कतार एयरवेज र इत्तिहाद एयरको जहाज आज काठमाडौं अवतरण भए । दुबै जहाजले कोरोना भाइरससँग लड्ने विविध मेडिकल सामग्री बोकेका थिए ।
यी कार्गो उडानका रुपमा नेपाल आएका थिए । विमानस्थल कार्यालयका अनुसार कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ।
यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेको बताइएको छ । दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ ।
यी दुई मुलुकमा लाखौंको संख्यामा नेपाली कामदार रहेका छन् ।