दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले दुई जना बलात्कारीलाई साढे ११ वर्षको जेल सुनाएको छ । साथै पिडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ ।

पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो । बैतडीकी पूजा बोहोराको बलात्कार कसुर प्रमाणित भएपछि सागर भट्ट र अमरराज अवस्थीलाई उक्त कैद तथा नगद सजाय सुनाएको हो ।

९ चैत २०६८ मा एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न फोटो स्टुडियो छिरेकी पूजा स्टुडियो सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीबाट सामूहिक बलात्कारमा परेकी थिइन् ।

आफूलाई बेहोस हुने सुई लगाई अचेत बनाएपछि बलात्कार भएको उनको जाहेरीमा उल्लेख छ ।

न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै यस्तो फैसला गरेको हो बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको सर्वोच्चले जानकारी दिएको छ ।

बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले २२ फागुन २०६९ मा १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

१५ वैशाख २०७१ मा पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।

पुनरावेदनले गरेको फैसलाका विरुद्ध सरकारी वकिलको कार्यालय २१ मंसिर २०७१ मा सर्वोच्च गएको थियो ।