काठमाडौं । दुई बलिया टोली नेदरल्याण्ड्स र पोर्चुगल यूरोकप २०२० मा प्रिक्वाटरफाइनलबटै आउट भएका छन् । आइतबार रातीका खेलहरुबाट यी दुई टोली बाहिरिएका छन् । नेदरल्याण्ड्सलाई चेक रिपब्लिकले हरायो । पोर्चुगलमाथि बेल्जियमले जित निकाल्यो । आइतबार राती हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीमा सिमित बनेको नेदरल्याण्ड्समाथि २-० को सानदार जित निकाल्यो ।
चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले गोल गरेका छन् । समूह ‘डी’मा तेस्रो बनेर अन्तिम १६ पुगेको चेकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता टोली नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जित निकालेको हो । चेकको भिडन्त क्वाटरफाइनलमा डेनमार्कसँग हुने छ । खेलको ५५औं मिनेटमा नेदरल्याण्ड्सका माथिस डि लिग्टले रातो कार्ड पाएका थिए ।
उता, थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा गएको छ । विश्वको नम्बर वान टोली र साविक विजेता टोलीबीचको भिडन्तमा अन्ततः नम्बर वान टोलीले बाजी मारेको हो । सेभियाको ला कार्टुजा स्टेडियममा भएको खेलमा हाजार्डले ४२औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । क्वाटरफाइनलमा अब बेल्जियम र इटली भिड्ने छन् ।