दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ

काठमाडौं । दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो । गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं। २९ केरावारीमा भएको दुर्घटनामा मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीको आरोप छ । मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखिएको बेला हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीले जनाएको छ ।

उनको गतिविधि शंकास्पद मानेर अनुसन्धान गर्दा चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रासलेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । पक्राउ परेका राई विरुद्ध जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढेको डीएसपी पण्डितले जानकारी दिए ।