काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल शुरु गरेको छ । आज नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का उच्च नेतासँग भेट गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले औपचारिक रुपमा सत्ता गठबन्धनको प्रस्ताव राखेका हुन् ।
देउवाले आज आफ्नो निवासमा तीन दलको बैठक बोलाएका थिए । नेताहरुका अनुसार उनले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन् । प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक जवाफ दिएको छ । उता, जसपा भने आज समेत अनिर्णित बनेको छ ।
जसपाका केही नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वासन दिएका कारण जसपाले छलफलका लागि भन्दै समय मागेको छ । प्रतिनिधिसभा पुनस्र्थापना पछि प्रधानमन्त्रीले स्वतः राजिनामा दिने अपेक्षा गरेका अन्य दल उनले सत्ता नछाड्ने बरु अझ बलियो बन्ने रणनीति अपनाएपछि नयाँ गठबन्धनको तयारी भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएको र राज्यसत्ता कब्जा गर्न खोजेको र यस्ता सरकारले लोकतान्त्रिक चुनाव गराउन नसक्ने भन्दै देउवाले आजको बैठकमा कांग्रेसको नेतृत्वमा तीन दलको सरकार बनाउने प्रस्ताव राखेको नेताहरुले बताएका छन् ।
आजको बैठकमा कांग्रेसका सबै पदाधिकारी सहभागी भएका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भए । जसपाबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भए ।