काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना भने छैन ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।
यस क्रममा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १ का एक\दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। सोमबार र मंगलबार केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।