देशभरको गर्मी अझै केही दिन रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ। मौसमविद्हरुका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ। हिजो काठमाडौ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको थियो भने भैरहवा, सिमरा लगायका क्षेत्रहरूमा ४२ डिग्री तापक्रम मापन गरिएको थियो। गौरको अधिकतम तापक्रम झन्डै ४३ डिग्री मापन गरिएको थियो ।

हिजो सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भएको थियो। आज पनि ती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायु कमजोर भएका कारण अन्य भूभागमा भने वर्षाको सम्भावना नरहेको बताइएको छ ।

काठमाडौं उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने सम्भावना रहेको छ। शुक्रबार दिउँसो पनि केहीबेर मौसम बदली भइ तापक्रम घटेको थियो। यसपालि मनसुन केही ढिला हुने देखिएको छ। सामान्यतया जुन १३ देखि नेपालमा मनसुन भित्रन्छ, तर यसपालि केही ढिला हुने सम्भावना छ।