देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

मंगलबारको हिंसात्मक आन्दोलनपछि देशभरी जेलब्रेकका प्रयास भएका छन् । विभिन्न जेलबाट हजारौं कैदी भागेको विवरण सार्वजनिक भएका छन् । आज दिनभरजसो डिल्लीबजार कारागारमा तनाव भयो । कैदीहरुले आफूहरु समेत निस्कन पाउनु पर्ने माग राख्दै आन्दोलन गरे । नेपाल प्रहरीका अनुसार अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् । त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् । सुन्धारा कारागारबाट एमाले नेता टोपबहादुर रायमाझी, बेचन झासहित तीन हजार बढी कैदी भागेका छन् ।


उता, दार्चुलामा जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् । कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ ।

उता, रौतहटमा मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।