देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च

काठमाडौं । बिहीबार देशभर वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम दिनभर जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ ।

पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेमा ९१ मिलिमिटर पानी परेको छ । निरन्तर पानी पर्दा तराई भेगमा डुबान र पहाडी भेगमा पहिरोको जोखिम बढेको छ । नदी किनारमा निरन्तर जलप्रवाह बढेको भन्दै विभागले एसएमइसबाट समेत सचेत गराइरहेको छ । केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।